नेपालमा आज ८२ जना नयाँ संक्रमित थपिए

विराटनगर, २८ असार । नेपालमा आज ८२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा १६ हजार ८ सय १ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले ८ हजार १ सय ७४ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनम उपचाररत रहेका छन् । आज १ सय ४७ गरी आजसम्म ८ हजार ५ सय ८९ जना निको भएर घर फर्किएका छन् । पीसीआर विधिबाट आज ३ हजार ९ सय १६ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म २ लाख ८३ हजार ५ सय १५ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा २३ हजार ७ सय ८४ जना रहेका छन् । उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले समुदायमा नमुना संकलन गर्न थालेको छ । नखुटोल, कोटेश्वर, संखमुल, बुढानिलकण्ठ, कपन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, डिल्लीबजार, कागेश्वरी मनोहरा र टोखाबाट लगायत उपत्यकाका १२ वटा क्षेत्रबाट नमुना परीक्षण भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले बताउनुभयो । अहिलेसम्म संकलन भएका ३ हजार नमुना परीक्षण गर्दा १६ सय जनाको रिपोर्ट आउँदा ३ जनामा मात्रै पोजेटिभ देखिएको छ । उनीहरुको ट्राभल हिस्ट्री नभएको पाइएको उहाँले बताउनुभयो । असार २५ गतेबाट ४५ हजारको नमुना संकलनको काम अघि बढाइएको पनि उहाँले बताउनुभयो । प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १२ महिला र १० पुरुष रहेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापाका १९, खोटाङका २ र सुनसरीका १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ५ सय ७१ पुगेको छ । प्रदेश १ मा आज ३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङको पथरीशनिश्चरेका २ महिला र झापाको कचनकवलका १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १मा कोरोना संक्रमितको संख्या ७ सय २४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *