बाढी, पहिरो र डुवानमा परि ७५ जनाको मृत्यु

विराटनगर, २८ असार । बाढी, पहिरो र डुवानमा परि एक महिनामा देशभर ७५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जेठ ३१ यता बाढी पहिरो र डुबानमा परेर ७५ जनाको मृत्यु भएको छ । अबिरल बर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानमा परी अरु ४२ जना वेपत्ता भएका छन् । पहिरोमा पुरिएका उनीहरु मध्ये अधिकांशको मृत्यु भएको आशंका गरिए पनि पुष्टि भने भैसकेको छैन । यी घटनामा ५२ जना घाइते बनेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव मुरारी वस्तीले जानकारी दिनुभयो । प्राधिकरणमा प्राप्त तथ्यांक अनुसार सबैभन्दा धेरै २७ जनाको म्याग्दीको पहिरोमा परेर मृत्यु भएको छ । यसैगरी जाजरकोटमा १०, कास्कीमा ७, सिन्धुपाल्चोकमा ३ जनाको मृत्यु भएको छ । म्याग्दीको धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिकामा गरी पहिरामा परेर २७ जनाको मृत्यु भएको छ भने अझै चारजना बेपत्ता छन् । यसैगरी जाजरकोटबाट अहिलेसम्म १० जनाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–४ लगायत स्थानमा पहिरो जाँदा नौजनाको मृत्यु भएको हो । अझै ५ जना बेपत्ता छन् । यस्तै कास्कीमा अहिलेसम्म सात जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । यसैगरी सिन्धुृपाल्चोकको पहिरोमा परेर सबैभन्दा बढी २० जना वेपत्ता भएका छन् । गत जेठ ३० गते पूर्वबाट नेपाल प्रवेश गरेको मनसुनका कारण परेको पानी र त्यसपछि आएको बाढी, पहिरो तथा चट्याङ्गसमेतको तथ्यांक जोड्दा भने मृत्यु हुनेको संख्या नै कम्तिमा ९५ पुगेको छ । सबैभन्दा धेरै पहिरोमा परी यो एक महिनामा ७४ जनाको मृत्यु हुँदा चट्याङ्गका कारण देशभर १७ जनाको ज्यान गएको र ४२ जना घाइते भएका छन् । यसैगरी बाढीमा परी दुई जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएका छन् । पहिरोका कारण देशभर २ सय ६६ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ । १२६ निजी आवास पूर्णरुपमा क्षतिग्रस्त हुँदा २० घरमा आंशिक क्षति पुगेको छ । बाढीबाट देशभर ७९ परिवार प्रभावित भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकमा उल्लेख छ । गृह मन्त्रालयका अनुसार भोलि साँझसम्म अझै लगातार वर्षा हुनेछ । लगातारको वर्षाले बाढी, पहिरो र डुबानको खतरा औल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *