पिसीआर परीक्षण गरेर अभियुक्त खड्कालाई अदालत बुझाइने

विराटनगर, २९ असार । मोरङ उर्लाबारीका सनम शाक्य हत्या एवं लगभग ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त हरिशरण खड्कालाई मोरङ ल्याइएको छ । ‘इन्टरपोलको रेकर्नर नोटिस’मा रहेका उनलाई दुवईबाट नेपाल आउने क्रममा गत शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । उनी विरुद्धको मुद्दा जिल्ला अदालत मोरङमा रहेपछि गयराति ११ बजे मोरङ ल्याइपुर्याइएको हो । प्रहरीले आरडीटी विधिबाट कोरोना परीक्षण गरेर उनलाई आज मोरङ अदालतमा पेस गरेको थियो । तर रिपोर्ट पोजेटिभ आएपछि कोरोना संक्रमण भएनभएको विषयमा पिसीआर विधिबाट थप परीक्षण गरेर रिपोर्टसहित बुझाउन अनुमति दिएर अदालतले फिर्ता पठाएको छ । आरडीटी पोजेटिभ आएपछि बयान लिएर उनीमाथि अघि बढाउनु पर्ने कारबाहीको प्रक्रिया तत्काललाई रोकिएको अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाले बताउनु भयो । पिसीआर विधिबाट परीक्षण गर्न अभियुक्तको स्वाब संकलन भइसकेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोश खड्काले बताउनु भयो । पिसीआर रिपोर्ट आएपछि अदालतमा बुझाइने र त्यस भन्दा अघि आइसोलेसनमा लगेर राखिने उहाँको भनाइ छ । एसपी खड्काकाअनुसार कुनै घटनामा संलग्नलाई पक्राउ गरेर अदालतमा बुझाउनु अघि प्रहरीले कोरोना भाइरसको संक्रमण भए नभएको पुष्टि गर्न आरडीटी परीक्षण गर्ने गरेको छ । अभियुक्त खड्कालाई दुवईमै हुँदा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारपछि निको भएर उनी नेपाल आउने क्रममा काठमाडौंमा पक्राउ परेको स्रोतले बतायो । काभ्रेको बेथानचोक गाउँपालिका–४ घर भएका ४२ वर्षीय खड्का सुन प्रकरणपछि भने फरार बनेका थिए । रेकर्नर नोटिस जारी गरेर इन्टरपोलमार्फत उनको खोजी भइरहेको थियो । सुन तस्करीका मुख्य अभियुक्त मोरङ उर्लाबारीका चूडामणि उप्रेती ‘गोरे’ समूहले दुवईबाट २०७४ साल माघमा तस्करी गरेर ल्याएको साढे ३३ किलो सुन हराएको थियो । उक्त सुन अहिलेसम्म भेटिएको छैन । त्यही सुन गायब बनाएको आरोपमा गोरे समूहले करेन्ट लगाएर यातना दिँदा २०७४ साल फागुन १९ गते सनम शाक्यको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *