बाढी पहिरोमा परी प्रदेश १ मा १३ जना बेपत्ता, ४ जनाको जिवितै उद्दार

विराटनगर, २८ असार । केहीदिनदेखी लगातार परेको वर्षासँगै आएको बाढी र पहिरोमा परी प्रदेश १ मा १३ जना बेपत्ता भएका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोमा परी ११ जना र बाढीमा २ जना गरी १३ जना बेपत्ता भएका छन् । आज बिहान संखुवासभा सिलिचोङ गाउँपालिका– १ को बेसिन्दा भन्ने स्थानमा पहिरोमा परी ११ जना बेपत्ता भएका छन् । पहिरोले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् । चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन् । पहिरोमा राममान राई, हस्तीकुमारी राई , एन्जीला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई, उत्तरकुमारी राई, नरमाया राई, हर्कधन राई र आइतमाया राई हराइरहेका छन् । स्थानीय बासिन्दा हस्तमान राईका अनुसार पहिरोमा परेर घाइते भएका गोवासिंह राई, भीमसरी राई, फुलमाया राई र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको छ ।गाउँलेहरुको सहयोगमा उनीहरुलाई उद्धार गरिएको हो । अहिले पनि पहिरो गएको स्थानमा पानी परिरहेको छ । पहिरोले राममान राई, जुद्धबहादुर राई, माने राई, गैरी राई, नगमाया राई, सन्दीप राई, भीमबहादुर राई, शिवधन राई र हर्कधन राईको घर बगाएको प्रहरीले जनाएको छ । आज बिहान् सप्तकोशी नदीमा एक बालक बेपत्ता भएका छन् । आज बिहान बाढीसँगै आएको दाउरा निकाल्न नदीमा पसेका १३ वर्षीय बालक अनिल बस्नेत नदीमा बेपत्ता भएका हुन ।सुनसरी बराहक्षेत्र नगरपालिका– ६ बोराबानमा कोशी किनारास्थित दाउरा खोज्ने क्रममा देवीघाट बस्ने गौवाबहादुर बस्नेतका छोरा अनिल दाउरा निकाल्न नदीमा पसेका थिए । तर उनलाई नदीले बगाएको थियो । हिजो दिउँसो झापाको भद्रपुरका ३३ वर्षीय पुरुष मेची खोलामा बेपत्ता भएका छन् । भद्रपुर नगरपालिका– ३ नाउगाटका राई नुहाउने क्रममा बेपत्ता भएका हुन् । तीन स्थानमा बेपत्ता भएका १३ जनाको खोजी कार्य जारी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *