बाढी र पहिरोमा परेर एक बालकको मृत्यु ,३ जना बेपत्ता

विराटनगर, २९ असार । बाढी र पहिरोमा परेर मोरङका अलगअलग स्थानमा एक महिलासहित दुई जना बेपत्ता भएका छन् । एक बालकको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–७ डाँगीटोलका २४ वर्षीय अरुण ऋषिदेवलाई रतुवा खोलाले बगाएर हिजो साँझ बेपत्ता बनाएको छ । पौडीएर झापाको गौरीगञ्जतर्फ जान खोज्दा ऋषिदेवलाई रतुवामाई ३ बाट खोलाले बगाएर बेपत्ता बनाएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मोहन रायमाझीले बताउनु भयो । खोजी जारी राखे पनि अहिलेसम्म बेपत्ता युवालाई फेला पार्न नसकिएको जानकारी उहाँले दिनु भयो । उनीसँगै खोलामा पसेका रतुवामाई–७ का बासु ऋषिदेव भने पौडीएर खोला तर्दै गौरीगञ्ज पुग्न सफल भएका छन् । त्यस्तै मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवीको खानी गाउँमा पहिरोले एक महिलालाई बेपत्ता बनाएको छ । गत शनिबाररातिको पहिरोले घरसँगै पुरिएकी महिलाको अहिलेसम्म पहिचान खुल्न सकेको छैन । माथिबाट खसेको पहिरोले घरसँगै महिलालाई पुरेको जानकारी प्रहरीलाई आएको छ । सुगम जिल्ला मोरङको सबै भन्दा दुर्गम मानिने सिंहदेवीमा अहिलेसम्म प्रहरी पुग्न सकेको छैन । सञ्चार सम्पर्कविहीन रहेको ठाउँमा घटना बारे खवर पाउने वित्तिकै हिजो हिँडेको प्रहरी टोली अहिलेसम्म घटनास्थल पुगेको पुग्न नसकेको हो । प्रहरी घटनास्थलमा पुग्न नसक्दा पहिरोमा पुरिएकी महिलालाई बाहिर निकाल्न नसकिएको बताइएको छ । वडा अध्यक्ष प्रेम लिम्बू पनि आज बिहान घटनास्थलतर्फ लाग्नु भएको छ । ‘बाटैभरी पहिरैपहिरो रहेकाले घटनास्थलमा पुग्न धेरै कठिन भइरहेको छ,’ टेलिफोन सम्पर्कमा उहाँले भन्नु भयो, ‘पहिरोले दुई दिनदेखि घरसँगै पुरिएकी महिलाको नाम खुलिसकेको छैन ।’ त्यस्तै विराटनगर महानगरपालिका–१६ दरैयामा बाढीका कारण जमेको पानीमा परेर हिजो साँझ एक बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले शोभालाल कामतका ५ वर्षीय छोरा रोमनको घर नजिकै जमेको पानीमा डुबेर मृत्यु भएको बताउनु भयो । घर नजिकै जमेको पानीमा बालक साँझ ५ बजेदेखि बेपत्ता बनेका थिए । खोजी गर्ने ७ बजे जमेको पानीमा डुबेर अचेत भएको अवस्थामा उनलाई भेटिएको थियो । उपचारका लागि कोसी अस्पताल ल्याइएकोमा चिकित्सकले साँझ मृत घोषित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *